माधवराज सुमार्गी स्मृति भवन हस्तान्तरण

माधवराज सुमार्गी स्मृतिकोषद्धारा पशुपतिमा निर्माण गरिएको भवन २०७१ वैशाख १ गते श्री पशुपति क्षेत्र विकासकोषलाई हस्तान्तरण गरियो । स्मृतिकोषका अध्यक्ष श्री अजेयराज सुमार्गी पराजुलीको सभापतित्वमा  भएको भव्य समारोहमा कोषका तर्फबाट विश्वकान्ति कलावति र अस्मिता सुमार्गीले भवनको साँचो प्रधानमन्त्री श्री सुशिल कोइरालालाई दिनुभयो र प्रधानमन्त्रीले उक्त साँचो पशुपति क्षेत्र विकासकोषका सदस्य सचिव डा. गोविन्द टंडनलाई हस्तान्तरण गर्नु भयो ।

सोहि अवसरमा प्रधानमन्त्रिले भवनको मूलद्धारमा रहेको शिलापत्र अनावरण गर्नुभयो । सांस्कृतिक धुन र मगंलाचरण बीच प्रारंभ भएको उक्त समारोहमा प्रधानमन्त्री श्री सुशील कोइराला , पूर्व प्रधानमन्त्री श्री माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहार्ल प्रचण्ड’ , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री भीम आचार्यले आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्री प्रदिप जंग पाण्डे , सांसद श्री रामनारायण विडारी , एन आर .एन का संस्थापक अध्यक्ष डा. उपेन्द महतोले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । माधवराज सुमार्गी स्मृतिकोषका तर्फबाट भवन संबन्धी विस्तृत विवरण श्री अरुण राज सुमार्गीले प्रस्तुत गर्नुभयो भने पशुपति क्षेत्र विकासका सदस्य सचिव डा.गोविन्द टण्डनले स्वागत मन्तव्य दिनुभयो । समारोहलाई स्वामी कमलनयनाचार्य ( मुक्तिनाथ बाबा ) ले आशीर्वचन प्रदान गर्नु भएको थियो ।

माधवराज सुमार्गी स्मृतिकोषले विभिन्न सांस्कृतिक, धार्मिक एवं सामाजिक गतिविधिमा आफनो क्षमताले भ्याएसम्म सहभागिता गर्दै आएको सन्दर्भमा भगवान श्री पशुपतिनाथ मन्दिर परिसरमा बहुपक्षीय प्रयोजनका लागि एउटा भवनको अनिवार्य आवश्यकता महसुस गरी  पशुपतिक्षेत्र विकासकोषसगंको समन्वयमा यो भवन निर्माणमा सहभागिता गरेको छ । यसले पशुपतिक्षेत्रमा हुने धार्मिक क्रियाकलापहरुमा भोजनादि बनाउने , स्वर्गीय आत्मीयजन प्रति श्रद्धाञ्जली अर्पण गर्ने र आध्यात्मिक गतिविधि गर्ने काममा सहयोग पुग्ने विश्वास लिइएको छ । यस भवनको शिलान्यास २०६८ साल मा स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको करकमलबाट भएको थियो । माधवराज सुमार्गी स्मृति भवनमा राष्ट्रगुरु योगी नरहरिनाथ, प्रसिद्ध विद्धान पं.शशिधर पराजुली र थाहा सिद्धान्तका प्रवर्तक रुपचन्द विष्टको स्मृतिमा “ थाहा ” समेत गरी तीन कक्षरहेका छन् । योगी नरहरीनाथको कक्षमा ५०० जना , थाहा कक्षमा २५० जना र पं.शशिधर पराजुली कक्षमा २५० जना गरी एकैपल्ट १ हजार जनाले भोजन प्रसाद लिन सक्ने गरी निर्माण गरिएको छ भने सानो समुहमा चाहिदा तीन छुट्टै कक्षमा विभाजन गर्न सकिने प्रावधान छ , तीनवटै कक्षका लागि अलग अलग भान्छाघर सहित भण्डारको समेत व्यवस्था छ । यो भवन निर्माणमा हाल सम्म करिब रु ६ करोड ५० लाख खर्च भएको छ ।

यस भवनमा स्थायीरुपमा रहने गरी माइकसिष्टम जडान गरिएको छ भने बत्तीको निरन्तरताको लागि सोलार प्यानल राखिएको छ । स्मृति भवनको नियमित संरक्षण र संभारमा आर्थिक समस्या न होस् भन्ना खातिर कम्पाउण्ड बाहिर १० कवलको पसलहरुको व्यवस्था गरिएको छ ।

समारोहको अन्त्यमा अतिथिहरुलाई दिवाभोजको आयोजना गरिएको थियो भने हिमालय स्प्रीङ्ग वाटरको ९०० मि.लि र ५०० मि.लि को पानी पनि अतिथिहरुलाई प्रदान गरिएको थियो ।